हुम्ला । हुम्लामा मंलगबार बिहान जीप कर्णाली नदीमा खसेर वेपत्ता भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका, ५ बेणुबिसौना र कैलेबालु सडक खण्डबाट लु१ज ७१६६ नम्बरको महिन्द्रा पिकअप जीप कर्णाली नदीमा खसेर वेपत्ता छ ।
खार्पुनाथ गाउँपालिकाका अनुसार उक्त जीपमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्षसहित १० जना यात्रु थिए ।
गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमाल, उनका भाइ चन्द्र हमाल, चालक मणि शाही, नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह सवार थिए । जीपमा रहेका कौर कामी र उनको दुई वर्षको बालकसमेत बेपत्ता छन् ।
एक जना यात्रुको भने परिचय नखुलेको गाउँपालिकाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार खोजी कार्य जारी रहेपनि कर्णालीमा खसेको जीप अझै फेला परेको छैन ।
सोमबार पनि बझाङमा जीप दूर्घटनामा परी ९ जनाको निधन भएको थियो । बझाङको मष्टा गाउँपालिका १ मा दुर्घटना हुँदा चालकसहित ९ जनाको मृत्यु भएको थियो ।
सडक यातायातको पहँच ग्रामीण भेगसम्म पुगेपनि असुरक्षित संरचना, पुराना गाडी र कतिपय अवस्थामा चालकको लापरवाहीका कारण पनि नेपालमा सवारी दूर्घटना भने बढ्दो क्रममा रहेको छ ।