कलंकीको खसी बजार हटाउन महानगरपालिकाको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिका कलंकीस्थित खसी बजार खाली गर्न निर्देशन दिएको छ। महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै १५ दिन भित्र बजार हटाउन भनेको हो । वडा नम्बर १४ मा पर्ने बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी बजार हटाउन महानगरले निर्देशन दिएको हो ।

खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्ने उजुरी आएकोले खसीबजार हटाउन लागिएको महानगरको सूचनामा जनाइएको छ । स्थानीय बासिन्दाले सामूहिक रूपमा निवेदन दिँदै खसीबजार हटाउन भनेका थिए ।

अबको १५ दिनपछि उक्त जग्गामा खसी बजार सञ्चालन नगर्न व्यवसायीहरूलाई महानगरले आग्रह गरेको हो । व्यवसायीले खसी बजारको वैकल्पिक व्यवस्था गर्नुपर्ने महानगरले उल्लेख गरेको छ ।