कविता : धिक्कार छ !

कृष्ण बाउसे

भत्कुन पर्ने धराप भत्किसक्यो

फेरी पनि भत्काउने कुरा गर्नु बेकार छ

चर खनेर

नयाँ घरको जग राम्ररी उठाउनु पर्ने दिन

आइसक्यो

अझ पनि

मात्र टोल्हाएर समय बिताउनु बेकार छ ।

पल्टन बाँकी

केवल पल्टनै लागेका सालिकहरू छन्

पन्छन बाँकी

केवल खिइँदै गएका काँडे-तारहरू छन्

त्यसैले

अझ लड्छु भनेर पाखुरा सुर्कँदै बम्कनु

मंसिरमा बिजुली चम्कनु जत्तिकै बेकार छ

जे छ बाँकी अब

मात्र चिसो खरानी बँचेको छ यस घरको अँगेनोमा

अझै पनि

आफू रमिते बन्दै

अरू कसैले आगो सल्काइदेला भनेर

चिसो चुल्हो कुरिरहने हो भने

हाम्रो त्यस खोटो नियतलाई धिक्कार छ ।

हाम्रो त्यस खोटो दृष्टिलाई धिक्कार छ।