कविता : रगतको पोलाई !

  • रामप्रसाद खनाल, अमेरिका

‘रगतले पोल्छ’
त्यसै भनेका होइनन् रहेछन् बुढापाकाले,
पोल्दो रहेछ,
भतभति पोल्दो रहेछ !
पोल्ने रगतले
कसै कसैलाई ठाडै सुकाउँदो रहेछ
कसै कसैलाई डिप्रेसनमा पुर्‍याउँदो रहेछ
कसै कसैलाई त झन्
आत्महत्या गरूँ गरूँ जस्तो पो बनाउँदो रहेछ !
कतिखेर बरबराउने,
कति खेर रुन मन लाग्ने,
अचम्मकै पोलाई हुँदो रहेछ रगतमा !
कति खेर फेरी जङ्गल जान मन लाग्ने
कतिखेर बालुवाटारमा बम वार्ड गर्न मन लाग्ने
कति खेर जुट्न मन लाग्ने
कतिखेर फुट्न मन लाग्ने
यता जाम कि उता जाम अस्थिर बनाउने
वल्ला घरको नरे, पल्ला घर सरे जस्तै
सरी रहने,
शक्ति र भक्तिका लागि मरिरहने
छिन मै हाँस्ने
छिन मै रुने
जे पनि गर्ने
जसो पनि बोल्ने
मानसिक अस्पताल भित्र,
शैय्यामा बरबराउने बिरामी जस्तो !
कतिखेर भावुक हुन मन लाग्ने
अचम्मकै हुँदो रहेछ रगतको पोलाई !
त्यसैले रगतसँग नखेल्दा राम्रो
रगतको होलीबाट टाढै हुँदा राम्रो
रगतसँग खेल्न त परैको कुरा,
रगत नछुँदा नै राम्रो
रगतलाई शरीर भित्रै खेल्न दिएको राम्रो
मुटुलाई फिल्टर गर्न दिएकै राम्रो
रगतको होली नबगाएकै राम्रो
यस्तै छ जिन्दगीको अनुभव र ठम्याइ हाम्रो
नपत्याए रगतले पोलेकाहरूलाई सोध्नुस !