कश्मिरमा विजेपीका तीन कार्यकर्ताको गोली हानेर हत्या

Photo source : The Asian age

जम्मु-कश्मिर । भारतको कश्मिरमा सत्तारुढ भारतीय जनता पार्टीका तीन जना कार्यकर्ताको गोली हानेर हत्या भएको छ । यो प्रधानमन्त्री नरेन्द्र मोदीको दल हो । भारतीय राज्य कश्मिरको कुलगाम जिल्लामा शंकास्पद चरमपन्थीले सत्तारूढ दलका कार्यकर्ताको हत्या गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

मारिनेमा बिजेपी युवा मोर्चाका महासचिव फिदा हुसैन, उमर हजाम र उमर बेग रहेको बताइएको छ । विजेपी जम्मु कश्मिरका प्रवक्ता अल्ताफ ठाकुरले घटनाको निन्दा गर्दै यो काम बर्बर भएको उल्लेख गरेका छन् ।

ठाकुरले ईद (एमीलाद) नबीको पावन अवसरमा निहत्ता नागरिक मारिएको समेत बताएका छन् । पार्टीले घटनामा संलग्नलाई कडा कारवाहीको माग समेत गरेको छ । कश्मिरमा सत्तारुढ दलका कार्यकर्ता असुरक्षित बन्दै गएका छन् । कश्मिरलाई केन्द्र सरकारले आफ्नो नियन्त्रणमा लिएपछि अहिले यहाँ चरमपन्थी आन्दोलनसमेत चर्कदै गएको छ ।