काठमाडौं । शुक्रबारदेखि काठमाडौँ उपत्यकाको आकाश छोपिएको छ । बाक्लो तुवाँलोका कारण भिजिविलिटी कम भएको छ । यसले हवाई उडानमा प्रभाव पारेको छ । मानव स्वास्थ्यमा समेत प्रत्यक्ष असर देखिएको छ । बाक्लो धुँवासहितको यो तुवाँलोले मानिसहरुलाई अत्याएको बेला जल तथा मौसम विज्ञान विभागले तुवाँलो हट्न अझै केही दिन लाग्ने बताएको छ ।
नेपालका धेरैजसो जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी परेका कारण हावा समेत चल्न पाएको छैन । यसले उत्पन्न भएको प्रदूषणका कण वायुमण्डलमा जम्मा भएसँगै आकासमा तुवाँलो देखिएको हो । स्थिर रहेको वायुमण्डल आगामी दुई–तीन दिनसम्म सुधार हुने सम्भावना कम रहेको विभागको भनाई छ ।
विभागका अनुसार प्रदूषित वायुमण्डल सफा हुन वर्षा हुनुपर्छ वा हावा चल्नुपर्छ । सरकारले यसअघि नै अत्यावश्यक काम नपरेसम्म घर बाहिर नजान आह्वान गरिसकेको छ ।