कांग्रेसका चार केन्द्रिय सदस्यमा कोरोना, कार्यसमिति बैठक अन्यौल

काठमाडौं । नेपाली कांग्रेसले १९ असोजका लागि बोलाएको केन्द्रिय कार्यसमिति बैठक अन्यौलमा परेको छ । पार्टीका चार केन्द्रीय सदस्यलाई कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टी भएसँगै बैठक अन्यौलमा परेको हो ।

१९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि १६७ केन्द्रीय सदस्यसहित २४० जनाको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये ६ जनाका रिपोर्ट पोजेटिभ आएको कांग्रेसले जनाएको छ । कांग्रेसले पार्टीको आगामी रणनीति तय गर्न बैठक बोलाएको हो ।

यसअघि शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मुद्दाबारे छलफल गर्न शनिबार पार्टी कार्यालयमा समेत बैठक बसेको थियो ।

त्यसमा सहभागी नेताहरुमा पनि कोरोना देखिएपछि धेरैजना नेता कन्ट्राक्ट ट्रेसिंगमा परेका छन् । केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगनकुमार थापा, कल्पना चौधरी र शम्भुलाल श्रेष्ठमा कोरोना पुष्टी भएको छ । अन्य २ जना भने कर्मचारी हुन् ।