कांग्रेसको ठहर : कोरोना नियन्त्रणमा सरकार असफल

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमणको नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । अब सरकारको भर परेर सुरक्षित नहुने भन्दै कांग्रेसले नागरिक स्वयमः सुरक्षित रहनु पर्ने सुझाव समेत कांग्रेसले दिएको छ ।

कांग्रेसको कोभिड–१९ सम्बन्धी अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार तथा मन्त्री निकट र टाढाका आधारमा कर्मचारी राख्ने प्रवृत्तिका कारण मन्त्रालयको काम प्रभावकारी नभएको र काम समेत फितलो बनेको उनको भनाई छ । सरकारले बनाएको उच्चस्तरीय संयोजन समिति समेत पूर्ण रुपमा असफल भएको उनको भनाई छ ।

स्वास्थ्य सामाग्री खरिदमा भ्रटाचार गरेको र असफल भइसकेको नेतृत्वलाई राखिराख्न नहुने तर्क कांग्रेसको छ । महामारीसँग लड्न सशक्त, डेडिकेटेड र इमान्दार नेतृत्व चाहिएको महतले बताए । वर्तमान संकटबाट सरकारले पार लगाउला र सुरक्षित रहौंला भन्ने अवस्था नरहेको भन्दै उनले आफूलाई सुरक्षित राख्ने तरिका खोज्दै आफ्ना साथीभाइ र घरगाउँलाई सुरक्षित राख्नु पर्ने सुझाव कांग्रेसको रहेको छ ।

महतले अनिवार्य मास्क लगाउन, एकअर्कामा भौतिक दुरी कायम राख्न, पटकपटक साबुन पानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न र अत्यावश्यक काम पर्दा बाहेक सार्वजनिक स्थानमा नजान सबैलाई आग्रह गरे । अब नेपालले पूर्णलकडाउन थेग्न नसक्ने कांग्रेसको भनाई छ । जहाँ संक्रमण देखिन्छ, त्यो क्षेत्रमा परीक्षण र सिल गर्ने विधि उपयुक्त रहेको पार्टीको निष्कर्ष रहेको छ ।