कांग्रेसको नेतृत्व होडबाट बाहिरिएका पौडेललाई निवासमै पुगेर सभापति देउवाले भेटे

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति शेर बहादुर देउवालाई टक्कर दिन आफुलाई सभापतिको उमेदवार मान्न आग्रह गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनकै समूहमा बढी आकंक्षी देखिएपछि चित्त दुख्यो । त्यसो नभए आफ्नो समूहबाट सर्वसम्मत नेतृत्वको उमेदवार छान्ने उनको चाहना थियो । सोहीकारण उनले आफु सभापतिको दौडबाट बाहिरिएको घोषणा गरे । उनले शेखर कोइरालालाई आफ्नो समर्थन हुने बताए ।

महाधिवेशनमा अपमानित महसुश गरेका नेता रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बोहराटारमै पुगेका छन् । सभापतिमा उम्मेदवारी दिएको केही घन्टापछि नै देउवा शनिबार राती पौडेल निवास बोहराटार पुगेर हुन् । सभापति देउवाले पौडेललाई राजनीतिबाट बाहिर नजान आग्रह गरेको स्रोतले जनाएको छ ।

उनले पौडेलको स्वास्थ्य अवस्थाबारे सोध्दै ख्याल गर्न भनेका थिए । पौडेलले भने महाधिवेशनमा आफ्नो सिद्धान्त र आदर्शबाहिर गएर प्रतिस्पर्धा भइरहेको भन्दै चित्त दुखाएका थिए । पौडेलले उम्मेदवारी दर्ता गरेकालाई स्वस्थ प्रतिस्पर्धा गर्न भनेका छन् । पौडेल समूहमा प्रकाशमान सिंह र शेखर कोइराला सभापतिको होडमा छन् ।