कांग्रेसको पालिकास्तरीय अधिवेशन आज हुँदै

काठमाडौं । नेपाली कांग्रेसको पालिकास्तरीय अधिवेशन आज हुँदैछ । आज कुल ६४ जिल्लाका पालिकास्तरीय अधिवेशन हुन लागेको हो । २१ वटा हिमाली जिल्लाको अधिवेशन भने असोज १८ मा गर्ने कांग्रेस पदाधिकारी बैठकले निर्णय गरेको छ । प्रदेश २ का ८ सहित १३ जिल्लामा भने वडा अधिवेशन नै हुन सकेको छैन । संस्थापनइतर समूहले भने सबै जिल्लामा एकै दिन पालिकास्तरीय अधिवेशन गर्न माग गरेको थियो । विवाद कायम राखेर हिमाल, पहाड, तराईका नाममा छुट्टाछुट्टै मितिमा निर्वाचन गर्दा निष्पक्ष नहुने दोस्रो पक्षको भनाई छ ।

केन्द्रीय निर्वाचन समितिले भदौ २५ मा निर्वाचन कार्यतालिका संशोधन गर्दै असोज ५ गतेभित्र सबै वडा अधिवेशन, असोज ९ गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन तथा असोज १८ गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन गर्ने निर्णय गरिसकेको छ ।