काठमाडौं । नेपाली काङ्ग्रेसको महाधिवेशन तीन महिना पछाडी धकेलिएको छ । आगामी भदौ १६ गतेबाट हुने गरि तोकिएको महाधिवेशन मंसिरसम्म स्थगित भएको हो । शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । कांग्रेसले तोकिएको महाधिवेशन गर्न नसकेपछि तीन महिना पछि मिति सार्ने निर्णय गरेको हो ।
केन्द्रीय समिति बैठकको निर्णय अनुसार अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिइने भएको छ । वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।
क्रियाशील सदस्यतामा देखिएको विवादका कारण भदौको महाधिवेशन कार्यतालिका प्रभावित भएपछि अर्को मिति कहिले तोक्ने भन्नेमा कांग्रेसमा संस्थापन र रामचन्द्र पौडेलबीच विवाद भएको थियो ।