काठमाडौं । नेपाली कांग्रेसले अन्य पार्टी छाडेर आफ्नो पार्टीमा आएपनि नेताले सांगठनिक मूख्य पद नपाउने नियम बनाएको छ । १९ पुसमा बसेको केन्द्रीय कार्यसमिति बैठकले समायोजन सम्बन्धी प्रावधानमा सहमति जुटाएको हो । जसमा अन्य दलबाट आएर संगठनमा सिधै प्रमुख पद प्राप्त गर्न नसक्ने उल्लेख छ । अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका व्यक्तिले पार्टीको सांगठनिक संरचनामा समायोजन हुँदा प्रमुख पदबाहेक अन्य पद भने पाउने छन् ।
अन्य पार्टी छाडेर आएकालाई कांग्रेसभित्र समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति बनाइएको थियो । समितिकै सिफारिसका आधारमा केन्द्रीय समिति बैठकले समायोजनको मापदण्ड समेत बनाएको छ । नेताहरुका अनुसार कांग्रेसले अन्य पार्टीमा सक्रिय नभएकालाई भने क्रियाशील सदस्यता दिन सकिने उल्लेख गरेको छ ।
कांग्रेसमा प्रवेश गरेका र सम्बन्धित जिल्लामा केन्द्रबाट पठाइएका र पठाउने प्रक्रियामा रहेका नामावली टुंगो लगाई सम्बन्धित व्यक्तिले वडामा क्रियाशील सदस्यता फारम भरी तहगत सिफारिस सहित समायोजनको कार्य सम्पन्न गर्ने निर्णय समेत उक्त बैठकले गरेको हो ।