काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न निर्धारित समय थप गरेको छ । यसअघि १० चैत भित्र क्रियाशील सदस्यता वितरण गरिसक्ने कार्यतालिका थियो । तर, ९ वटा जिल्लामा क्रियाशील सदस्यको काम नै शुरु हुन नसकेपछि समय थप्नु परेको बताइएकोछ ।
शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता वितरण गर्न समय थपेको नेताहरुले जनाएका छन् । नयाँ मिति अनुसार अब जिल्लाबाट ३० चैत भित्र क्रियाशील सदस्यता थप तथा नविकरणपछि त्यसको विवरण केन्द्रमा पठाउनुपर्ने भएको छ ।
वैशाख १० गतेभित्र क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा परेका उजुरी उपर छानविन गरी निर्णय गर्ने समय रहेको छ । क्रियाशील सदस्यताको अन्तिम सूची सभापति शेरबहादुर देउवालाई जेठ १७ भित्र बुझाइसक्नुपर्ने छ । कांग्रेसको १४ औं महाधिवेशन ७ भदौमा तोकिएको छ ।