काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको मितिलाई लिएर विवाद छ । सोही विवादका कारण केन्द्रिय समिति बैठकसमेत प्रभावित भइरहेको छ ।
तर, पछिल्ला चरणमा भइरहेको वार्ताले सकारात्मक रुप लिइरहेको नेताहरुले बताएका छन् । रामचन्द्र पौडेल समूहले कांग्रेसको १४ औं महाधिवेशन आगामी ५ मंसिरमा गर्न प्रस्ताव राखेको छ ।
आइतबार संस्थापन पक्षसँगको वार्तामा पौडेल समूहले २०७७ मंसिर ५, ६, ७ र ८ मा महाधिवेशनको प्रस्ताव राखेको छ । पौडेल पक्षले राखेको प्रस्तावमा सहमति भने भएको छैन ।
संस्थापन पक्षबाट भने मिति सार्वजनिक गर्ने विषयमा इच्छा देखाएको छैन । तर, आगामी वर्ष फागुनभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन सकिने संकेत संस्थापन पक्षले पौडेल पक्षलाई दिएको छ ।
वर्तमान कार्यसमितिको कार्यकाल आगामी फागुनमा सकिने भएको छ । त्यसपछि थप एक वर्ष कार्यकाल लम्ब्याउने तयारी रहेको छ । त्यसपछि भने जसरी पनि महाधिवेशन गर्नुपर्ने पौडेल पक्षको अडान रहेको छ ।