काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट पदाधिकारीको टुंगो लागेको छ । अब केन्द्रीय कार्यसमिति सदस्यका उमेदवारको मतगणना धमाधम हुने भएको छ । खुल्लातर्फको मत गणना आज गर्ने तयारी छ । सभापतिदेखि केन्द्रीय सदस्यसम्म एक सय ३४ केन्द्रीय कार्यसमितिका लागि गत सोमवार मतदान भएको हो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित गरिन्छ ।
३५ खुला केन्द्रीय सदस्य, महिला नौ, हरेक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी र जनजाति १५, खस,आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्य चयन गरिन्छ । केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने छन् । कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव र अर्जुनबहादुर सिंह निर्वाचित भइसकेका छन् ।