काठमाडौं । प्रदेश तहमा कांग्रेस, माओवादी र एमाले (नेपाल) समुहको सहमतिमा एमाले (ओली) समुह एक्लो बन्दै गएको छ । यसले एमालेले नेतृत्व गरेका प्रदेश सरकारहरु ढल्ने देखिन्छ । यसबाट केन्द्रिय समिकरणमा समेत असर पुग्ने देखेसँगै प्रधानमन्त्री ओलीले नयाँ कार्ड खेलेका छन् । उनले शनिबार सर्वदलीय बैठक बोलाए । जसको मूख्य एजेण्डा कोरोना भाइरसको रोकथाममा सरकारले चाल्ने कदम हुने अपेक्षा धेरैको थियो ।
तर, अपेक्षा विपरित प्रधानमन्त्रीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषय उठान गरे । एमसीसीलाई आफुले सदनमा पेश गर्न चाहेको भए पनि सभामुखले रोकिरहेको भन्दै उनले सभामुख अग्नी सापकोटाको कडा आलोचना गरे । एमसीसी अगाडी बढाउन चाहनु प्रधानमन्त्रीले सत्ता टिकाउन कांग्रेस फकाउने थप एक कार्ड चालेको विज्ञहरुले बताएका छन् ।
आज काठमाडौंबाट प्रकाशित हुने अधिकांश पत्रिकाले यसको चिरफार गर्ने प्रयास समेत गरेका छन् । नयाँ पत्रिकाले लेखेको छ, ‘नयाँ गठबन्धनका लागि विपक्षी एक ठाउँ भएपछि एमसीसीमार्फत कांग्रेससँग सहकार्य गर्ने प्रधानमन्त्रीको योजना ।’ कांग्रेस एमसीसी नेपालमा भित्राउन चाहन्छ । सोहीकारण प्रधानमन्त्री उसलाई फकाउन समेत यो प्रस्ताव टेबुल गर्न चाहन्छन् । तर, एमाले भित्रको माधव नेपाल समुह र माओवादी भने एमसीसीको कडा विरोधमा छन् ।