कांग्रेसले क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलायो

काठमाडौं । नेपाली काँग्रेसले क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलाएको छ । प्राविधिक विषय मिलिसकेका कारण सोमबार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरिएको छ । तीन जना केन्द्रीय सदस्य रहेको क्रियाशील सदस्यता छानबिन समितिले आइतबार यस विषयलाई अन्तिम रूप दिएको हो । सो क्रममा नेताहरुले शीर्ष नेतासँग परामर्श लिएका थिए ।

रमेश लेखक, कृष्णप्रसाद सिटौला र डा. मीनेन्द्र रिजाल यो समितिमा थिए । समितिले सोही प्रयोजनका लागि आइतबार साँझ सभापति देउवालाई प्रधानमन्त्री निवास वालुवाटारमा भेटेको थियो । समितिले आइतबार नै सभापति देउवालाई प्रतिवेदन बुझाउने भनेको थियो । तर, प्राविधिक काम बाँकि रहेको भन्दै अन्तिम समयमा स्थगित गरिएको थियो । पार्टीमा बारा, सप्तरी, सर्लाही, धनुषा, रसुवा र सिन्धुपाल्चोक जिल्लाको विवाद मिलाउन बाँकी थियो । अन्य जिल्लामा भने विवाद छैन । क्रियाशील सदस्यको समस्या समाधान भएपछि पार्टी अब महाधिवेशनमा जुट्ने नेताहरूको भनाई छ ।