काठमाडौं । महाधिवेशन नजिकिएको सन्दर्भमा नेपाली कांग्रेसले त्यसको तयारीलाई समेत तिब्र बनाएको छ । पार्टीले आज क्रियाशील सदस्य (नयाँ र नवीकरण) को विवरण मंसिर मसान्तभित्र केन्द्रीय कार्यालय सानेपामा पठाइसक्न जिल्ला कार्यसमितिहरुलाई निर्देशन दिएको छ।
पार्टीको १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यहको सूची सार्वजनिक गरी त्यसको विवरण केन्द्रमा पठाउन ७७ वटै जिल्ला कार्यसमितिलाई पत्राचार गरिएको हो । पूर्वनिर्धारित कार्यक्रम अनुसार कांग्रेस महाधिवेशन फागुन ७ बाट शुरु हुनेछ ।
कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका कामलाई तीव्रता दिन समेत विभिन्न तहको पार्टी संरचनालाई निर्देशन दिएको छ। कांग्रेसमा अहिले पाँच लाख हाराहारीमा क्रियाशील सदस्य रहेको बताइएको छ ।
यो संख्या आगामी महाधिवेशनमा दोब्बर बनाउने तयारी छ । २८ कात्तिकमा बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यताको काम मंसिरभित्र सक्ने निर्णय गरेको हो । यस पटक विवरण पठाउँदा क्रियाशीलको शुल्कसमेत पठाउनु पर्नेछ।