काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक संसद विघटन गरेसँगै विपक्षी दल एक भएका थिए । लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप मजवुत बनाउनुपर्ने निष्कर्षमा समेत कांग्रेस पुगेको हो । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।
कांग्रेस नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधवकुमार नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धन बनेको छ । यो गठबन्धनले सरकारलाई खबरदारी गर्दै आएको छ ।
२० चैत २०७७ मा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापतिको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । सोही अनुसार विपक्षी गठबन्धन बनेको हो । आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १४औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गरेको छ ।