कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । गुरुङ शेखर कोइराला र खड्का शेर बहादुर देउवा प्यानलबाट चुनाव लडेका हुन् । बुधबार राति सम्पन्न मत गणनाको अन्तिम परिणाममा खड्का र गुरुङले बाजी मारे । देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार दुई मतान्तरले पराजित भए । निर्वाचन समितिका अनुसार खड्काले २१२१ र गुरुङले १९०८ मत पाए ।

गच्छदारले १९०६, चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत ल्याएका छन् । १४ औं महाधिवेशनमा खड्का र गच्छदार देउवा प्यानलबाट, गुरुङ र भण्डारी शेखर कोइराला प्यानलबाट, सुजाता कोइराला प्रकाशमान सिंह प्यानलबाट र दिव्यश्वरी शाह विमलेन्द्र निधि प्यानलबाट उम्मेदवार बनेका थिए । आचार्य भने प्यानलमा थिएनन् ।