काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नदैछ । लामो प्रयासपछि एक वर्षको अन्तरालमा कांग्रेसको केन्द्रीय समिति बैठक बस्न लागेको हो । यसअघि मिति तय भएर पनि बैठक स्थगित हुँदै आएको थियो ।
पार्टीको सोमबार भएको पदाधिकारी र पूर्वपदाधिकारीको छलफलले केन्द्रीय समिति बैठकका लागि १० एजेन्डा तय गरेको छ । छलफलमा सभापति शेरबहादुर देउवाले बैठकको प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावसमेत गरेका थिए । तर, त्यस विषयमा फरकफरक मत आएकोले के गर्ने भन्ने टुंगिएको छैन ।
बैठकमा समसामयिक विषय, सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, कार्यसम्पादन समिति बैठकबाट यसअघि भएका निर्णयहरु अनुमोदन गरिने भएको छ ।
पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत, नीति अधिवेशन सम्बन्धी प्रस्ताव, विभाग गठनसम्बन्धी प्रस्ताव, एउटा अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी प्रस्ताव, प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिकाबारे संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी गराउने र सरकारमा पार्टीको भूमिकाबारे उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउने कार्यक्रम छ ।