कांग्रेस कार्य सम्पादन समिति र संसदीय दलको बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठक आज बस्दैछन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बिहान १०स्३० बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्नेछ। केन्द्रीय समिति बैठक तत्काल बोलाउन सम्भव नभएका बेला कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पनि महत्वपूर्ण निर्णय गर्दै आएको छ। कार्यसम्पादनमा पदाधिकारी, पूर्वपदाधिकारीलगायत सदस्य छन्।

यो बैठकमा पार्टी अहिलेसम्म प्रमुख प्रतिपक्षमा रहेकोले अबदेखि सरकारमा जाने निर्णय गर्ने बताइएको छ । संसदमा कांग्रेस प्रमुख प्रतिपक्षी रहिआएको र नेकपा एमालेले सरकार छाडेपछि प्रमुख प्रतिपक्षी भूमिका आफूहरूको भएको बताइरहेकोले सिट व्यवस्थापनमा समस्या भइरहेको थियो।

यही कारण संसद बैठक यसअघि स्थगितसमेत भएको थियो। कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गर्ने तयारी गरेको छ। गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमै बसेको थियो।

यस्तै आज मध्याह्न १२ बजे बस्ने संसदीय दलको बैठकमा कांग्रेसले सरकारलाई विश्वासको मत दिने र प्रतिनिधि सभामा सांसदहरूले खेल्ने भूमिकाबारे छलफल गर्नेछ। प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पेश गर्ने तयारी छ।

यसअघि शनिबार बालुवाटारमा बसेको १० दलीय बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगसम्बन्धी ऐन संशोधन गर्न विधेयक प्रतिनिधि सभामा लैजानेबारे छलफल गरेको थियो। यी विधेयक संशोधनमाथि राप्रपालगायत दलहरूले फरक मत राख्दै आएका छन्। यसैबीच प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।