कांग्रेस निकट पत्रकारको संस्था प्रेस यूनियनमा देउवा पक्ष पराजित

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था, नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन्। उनी कांग्रेसमा संस्थापनइत्तर पक्षका उम्मेदवार हुन् । लम्सालले ७४५ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत ल्याइन्। अध्यक्षका अर्का उम्मेदवार भुवन भट्टले मात्र १२ मत पाए । अनिता सभापति शेरबहादुर देउवा पक्षकी हुन्। हेटौंडामा साउन ६ र ७ मा महाधिवेशन भएको थियो।

पोखरामा महाधिवेशन गरेपछि ८ वर्षमा युनियनले अहिले महाधिवेशन गरेको थियो। २०७१ भदौमा देउवानिकट बद्री सिग्देल युनियन अध्यक्ष थिए। पोखरा महाधिवेशनमा सिग्देलले लम्साललाई हराएका थिए। ८ वर्षपछि लम्साल अहिले अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा प्रेम केसी ६८५ मतसहित निर्वाचित भएका छन्। उनले सरोज अधिकारीलाई हराएका हुन्। अधिकारीले ६६५ मतमात्रै ल्याएका थिए। केसी संस्थापनइत्तर पक्षका नेता हुन् ।

उपाध्यक्ष खुलातर्फ २ पदका लागि नकुल अर्याल ७७५ मत र भीष्मराज ओझा ६४० मतसहित निर्वाचित भए। नकुल संस्थापन इतरका हुन्। ओझा यसअघि कार्यबाहक महासचिव थिए । उनी भने संस्थापन पक्षका हुन्। उपाध्यक्ष महिलातर्फ सलोजा दाहाल ७२० मतसहित निर्वाचित भइन् भने कल्पना शर्मा ६१९ मतसहित पराजित भइन्। सलोजा संस्थापनइतरकी हुन्। उपाध्यक्ष समावेशीतर्फ दीपेन्द्र वान्तवा निर्विरोध निर्वाचित भए ।

उपाध्यक्ष प्रदेश नम्बर १ तर्फ डिल्लीराम खतिवडा ५६० मतसहित निर्वाचित भए भने मधेश प्रदेशतर्फ अनिल कर्ण ६४८ मतसहित बिजयी भए। बागमती प्रदेश उपाध्यक्षमा मुरारी अधिकारी ६७१ मत सहित निर्वाचित हुँदा गण्डकी प्रदेश उपाध्यक्षमा ऋषिकान्त पौडेल ६७३ मतसहित बिजयी भए। लुम्बिनी उपाध्यक्षमा माधवप्रसाद अर्याल ७०१ मतसहित निर्वाचित भए भने कर्णाली उपाध्यक्षमा राजेन्द्रबहादुर कार्की ६६९ मतसहित निर्वाचित भएका थिए।

सुदूरपश्चिम उपाध्यक्षतर्फ प्रेम चुनारा ५५२ मतसहित निर्वाचित भए । उपाध्यक्ष उपत्यकातर्फ जीवन भण्डारी ८४२ मतसहित निर्वाचित भएका छन्। महासचिवमा दिलिप पौडेल ८७८ मतसहित निर्वाचित हुँदा जगन्नाथ दुलालले ४५१ मतमात्रै ल्याए। दिलिप संस्थापनइतरका हुन्। उपमहासचिव खुलातर्फ ३ पदमा कमल पन्तको ५७७ मत, युवराज गौतमको ७३७ मत र रवीन्द्र सुवेदीको ५५८ मत आएको थियो। उनीहरू निर्वाचित भएका छन्।

उपमहासचिव महिला २ पदमा दिलिपाश्री अधिकारी ६८१ मत र सुलोचना गौतम ६९० मतसहित निर्वाचित भएका छन्। दिलिपाश्री संस्थापननिकट हुन्। उपमहासचिव समावेशीतर्फ अभयकुमार राई ७१३ मतसहित निर्वाचित भए । सचिव खुला चार पदका लागि केदारप्रसाद दाहालको ६७७ मत, खगेन्द्र भण्डारीको ६४८ मत, तीर्थराज बस्नेतको ५८० मत र भुवन शर्मा ६३७ मत आएको छ। उनीहरू चारै जना खुला सचिव निर्वाचित भएका छन्। सचिव महिलातर्फ ३ जना निर्वाचित भए।

पुष्पा शर्मा ६४४, मेनुका ढुंगाना ८०१ र रेजिना गौतम ६३९ मतसहित निर्वाचित भए । सचिव आदिवासी जनजातितर्फ लालकुमार मोक्तान ७४१ मतसहित निर्वाचित भएका छन्। सचिव मधेशीतर्फ अजित तिवारी, सचिव दलिततर्फ राजन रूचाल, सचिव पिछडिएको क्षेत्रतर्फ एलपी देवकोटा, सचिव थारूतर्फ सहदेव चौधरी, सचिव खसआर्यतर्फ युवराज रेग्मी निर्वाचित भए ।

सचिव अनलाइन माध्यमतर्फ छायाचन्द्र भण्डारी, सचिव रेडियो माध्यमतर्फ नरहरि सापकोटा, सचिव टेलिभिजनतर्फ अशोककुमार तिवारी, सचिव छापा माध्यमतर्फ राधा खनाल निर्वाचित भएका छन्। कोषाध्यक्षमा माधव धिताल ६७४ मतसहित निर्वाचित भए।