काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । यसमध्ये पदाधिकारीको सेट तयारी भएको छ । शुक्रबार साँझ सबै क्लस्टरका सहमहामन्त्रीको नतिजा सार्वजनिक भएको छ । जसले आगामी ५ वर्ष कांग्रेसको नेतृत्व गर्ने टीम तयार भएको हो । कांग्रेसमा १३ पदाधिकारी रहेका छन् । कांंग्रेसमा अब नयाँ नेतृत्वमा अधिकांश नयाँ अनुहार देख्न सकिन्छ ।
सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय, जीवन परियार, भीष्मराज आङ्देम्बे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव र उमाकान्त चौधरी निर्वाचित भएका छन्। यस टीममा देउवा र खड्कामात्रै यसअघि पदाधिकारीमा रहेका अनुहार हुन् ।
निर्वाचित केन्द्रीय सदस्यबाट एक जनालाई सभापतिको प्रस्तावमा केन्द्रीय समितिले अनुमोदन गरि कोषाध्यक्ष मनोनित प्रावधान रहेको छ । कोषाध्यक्ष र पार्टी प्रवक्तालाई पदाधिकारीको बैठकमा सहभागी गराइन्छ । कांग्रेसको अघिल्लो कार्यसमितिमा सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का र शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री प्रकाशशरण महत र सुनिल थापा रहेका थिए ।