कांग्रेस महाधिवेशन सार्न खोजेको भन्दै बिच्किए गगन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् केन्द्रीय सदस्य गगन थापाले पार्टीको महाधिवेशनको मिति फेरि सार्ने प्रस्तावमा तिब्र असहमति राखेका छन् । शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा पार्टीको १४ औँ महाधिवेशन फेरि सार्ने प्रस्तावमाथि उनले असन्तुष्टि जनाएका हुन् ।

उनले भनेका छन्, ‘कति सजिलै सर्छ अधिवेशनको मिति, १३ जिल्लाको वडा अधिवेशनकै टुङ्गो छैन । कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा बस्नु नपर्ने, बेथितिको जिम्मा लिनै नपर्ने । बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने ?’ थापाले अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? भन्दै नेतृत्वमाथि प्रश्न गरेका छन् ।

महाधिवेशनको प्रक्रियाअन्तर्गत तल्ला तहको अधिवेशनका विषयमा नेताहरूबीच विवाद भएपछि संस्थापन पक्षले नै केन्द्रीय महाधिवेशनको मिति सार्ने प्रस्ताव यसअघि नै गरेको थियो । महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तोकिएको छ । यो मिति समेत सार्ने तयारी गरिएको हो ।