कांग्रेस महामन्त्रीको मतगणना, आजै आउनेछ नतिजा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भएको निर्वाचनमा सभापति र उपसभापतिको नतिजा आइसकेको छ । अब निर्वाचन समिति महामन्त्री पदको मतगणनामा जुटेको हो । पार्टी कार्यालय सानेपामा मतगणना सुरू हुँदैछ । कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच भिडिरहेका छन् ।

सभापति शेरबहादुर देउवा समूहबाट डा्. प्रकाश शरण महत र प्रदीप पौडेल छन् । डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल भिडेका छन् । प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार बनेका छन् । निर्वाचन समितिका अनुसार महामान्त्रीको नतिजा आज अपरान्ह सम्म आइसक्ने छ ।