कांग्रेस सभापतिका लागि ६ जना उमेदवार, रामचन्द्र पौडेल लडेनन्

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ । यसका लागि आज भएको उम्मेदवारी मनोनयनमा कुल ६ जनाले सभापतिका लागि आवेदारी दिएका छन् । शनिबार अपरान्ह ५ बजेसम्म मात्र उम्मेदवारी दर्ता गर्न पाउने समय थियो । त्यसअवधिसम्म सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराए ।

सभापतिको दौडबाट रामचन्द्र पौडेल भने बाहिरिएका छन् । उनले देउवा इत्तर समूहमा सहमति नजुटेपछि दावेदारी छाडेका हुन् । उपसभापतिमा विजय गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्यश्वरी शाहले मनोनयन दर्ता गराए । गच्छदार र खड्का देउवाको प्यानल, गुरुङ र भण्डारी कोइरालाको प्यानल, सुजाता कोइराला प्रकाशमान सिंह प्यानल र दिव्यश्वरी शाहले विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिए । महामन्त्रीमा डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा र डा. राजाराम कार्कीको मनोनयन परेको छ ।

८ सहमहामन्त्रीका १९ जना भिड्दैछन् । देउवा समूहबाट महिला कोटाको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेशीबाट महेन्द्र यादव, खस आर्यबाट किशोरसिंह राठौर, थारुबाट उमाकान्त चौधरी, अल्पसंख्यकबाट फरमुल्लाह मन्सुर ९बारा० र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही उम्मेदवार छन् ।

शेखर कोइराला समूहबाट सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट शेख वकिलले उम्मेदवारी दिएका छन् ।

सहमहामन्त्रीमा यीबाहेक सुरेन्द्रप्रसाद चौधरी, रञ्जित कर्ण, गंगा सुनार र चेतराज बरालको उमेदवारी परेको छ । खुलातर्फको ३५ जना केन्द्रीय सदस्यका लागि १०९ जनाको उम्मेदवारी परेको छ । कुल १२१ केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।