कांग्रेस सभापति देउवा र प्रधानमन्त्रीबीचको गोप्य भेटले राजनीतिक वृत्तमा तरंग

काठमाडौं । कांग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुटुक्क भेटेपछि राजनीतिक वृत्तमा तरंग शुरु भएको छ । यसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र मात्र नभई कांग्रेस भित्र समेत विवाद निम्त्याएको छ ।

नेकपा भित्र विवाद उत्कर्षमा रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार बालुवाटारमा भेटवार्ता भएको हो । स्रोतका अनुसार कांग्रेसका अन्य नेता सभापतिबाट तत्काल प्रधानमन्त्रीसँग भेट गर्न नहुने पक्षमा थिए ।

किनकी प्रधानमन्त्रीले भने पछिल्लो एक साता देउवासँग भेट्न चाहिरहेका थिए । भेटपछि प्रधानमन्त्रीले देउवालाई सत्ता साझेदारीको लोभ देखाएको खबर सार्वजनिक भएको छ । यसले अझ यो भेट विवादित बन्न पुगेको हो । देउवाका साथमा केन्द्रीय सदस्य रमेश लेखक समेत सहभागी थिए ।

नेकपा अध्यक्ष प्रचण्डले ल्याएको राजनीतिक प्रस्ताव बहुमतबाट पास हुने अवस्थामा आफु प्रधानमन्त्रीबाट हट्ने जोखिम रहेको भन्दै ओलीले त्यस अवस्थामा कांग्रेसले साथ दिनु पर्ने प्रस्ताव राखेको बताइएको छ ।

उता, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने नेकपा विवादमा कांग्रेस निरपेक्ष रहने बताएका छन् । कांग्रेसलाई ५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश रहेको भन्दै पार्टी कुनै पनि भड्कावबाट टाढा रहने उनले उल्लेख गरेका छन् ।