कांग्रेस सभापति : शेरबहादुरको अग्रता, ५१ प्रतिशत ल्याउने सम्भावना कति

रासस

काठमाडौं । नेपाली कांग्रेसको नयाँ सभापति चयन गर्न जारी निर्वाचन मतगणनामा शेरबहादुर देउवाले अग्रता लिएका छन् । बिहान ८ः२० सम्मको अपडेट अनुसार कुल ३९७७ मत गनिएको छ । यसमध्ये देउवाले १९०० मत पाएका छन् । शेखर कोइरालाले १४६७ मत पाएका छन् । प्रकाशमान सिंहले २९६ मत पाउँदा विमलेन्द्र निधीले २३० मत पाएका छन् । कल्याण गुरुङले मात्र २० मत पाएका छन् । सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत भोट ल्याउनुपर्छ ।

मंगलबार बिहान पौने ४ बजेदेखि मतगणना सुरु भएको हो । पहिलो चरणमा सभापतिको मतगणना सुरु भएको हो । बिहान ११ बजे सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्‍न भएको थियो । कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।