काठमाडौं । काठमाडौंको चोभारमा निर्माण सम्पन्न भएको सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आउने भएको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दरगाहको उद्घाटन गर्ने छन् । बन्दरगाह नेपाल इन्टरमोडल यातायत विकास समितिमार्फत संचालनमा आउन लागेको हो । काठमाडौं सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि समुन्द्री बन्दरगाह हुँदै व्यवसायीहरुले भित्र्याएको माल वस्तु सिधै काठमाडौंमै जाँच पास गर्न सकिन्छ । यसले आयात तथा निर्यात लागत कम हुने बताइएको छ ।
वीरगञ्ज नाकाबाट मालवस्तु बोकेर डिजिटल लकिङ लगाएर काठमाडौं आएका कन्टेनरलाई बन्दरगाहमा भित्र्याउँदै आज बन्दरगाह सञ्चालनको घोषणा गरिने भएको छ । यसअघि सरकारले बन्दरगाह सञ्चालनका लागि आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरेको थियो । बन्दरगाह क्षेत्रलाई भन्सार क्षेत्र घोषणा, आन्तरिक पारीबहनको सुविधा, चार किल्ला निर्धारण, भन्सार प्रमुख नियुक्ति र सुरक्षाको प्रबन्ध बन्दरगाहमा भइसकेको छ । बन्दरगाहभित्र रहने भन्सार, क्वारेन्टिन र प्रशासन संरचनामा जनशक्ती परिपूर्ति भइसकेको छ ।
अब मंगलबारदेखि नेपाली व्यवसायीले समुन्द्री बन्दरगाह हुँदै तराईका पाँच नाकाबाट आयात गर्ने माल वस्तु बोकेको कन्टेनर सीमा क्षेत्रमा आवश्यक प्रक्रिया पुर्याएपछि सिधै काठमाडौं आउनेछन् । विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६० करोड लागतमा बन्दरगाह र करिब २० करोडमा इन्टरमोडल यातायात विकास समितिको प्रशासनिक संरचना निर्माण गरिएको हो ।