काठमाडौंबाट एकै पटक समातिए १२२ चिनियाँ नागरिक

काठमाडौं । विभिन्न आपराधिक तथा अवैध गतिविधिमा संलग्न रहेको आशंकमा प्रहरीले सोमबार ठूलो संख्यामा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरीले चलाएको ‘सर्च एण्ड एरेष्ट’ अपरेशनका दौरान एकैदिन १२२ जना चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले पुष्टी गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौं प्रहरी परिसर, टेकुले यो अपरेशन चलाएका हुन् ।

प्रहरीका अनुसार मनमैजु, महाराजगञ्ज र बुढानीलकण्ठ क्षेत्रबाट ती व्यक्ति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा केही महिलासमेत रहेका छन् ।

भिसा अवधि सकिएका व्यक्ति पनि अवैध रुपमा बसेको र विभिन्न क्षेत्रमा काम पनि गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

ब्यारेक सिस्टममा एकै घरमा २५ देखि ३० जनासम्म बसेर काम गर्ने गरेको भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले चिनियाँ नागरिकको साथबाट थुप्रै ल्यापटप र मोबाइल बरामद गरेको छ । उनीहरुलाई काठमाडौं प्रहरी मातहतका विभिन्न वृत्त र प्रभागमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

नेपालमा चिनियाँ नागरिकको संलग्नता आपराधिक तथा अवैध गतिविधिमा बढेको छ । सुन तस्करी, मानव वेचविखान, बैंक ह्याकिंग, लागूऔषधजस्ता गतिविधिमा संलग्न रहेको पाइएको छ ।

गत भदौ दोस्रो साता नेपाली बैंकबाट एटीएम कार्ड प्रयोग गरेर डेढ करोडभन्दा बढी रकम चोरि भएको काण्डमा ६ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । त्यसपछि प्रहरीले नेपालमा चिनियाँ नागरिकमाथि निगरानी बढाएको थियो ।