काठमाडौंबाट पोखरा हिँडेको कार त्रिशुलीमा खस्दा तीन जना वेपत्ता

चितवन । काठमाडौंबाट पोखरा जाँदै गरेको कार चितवनमा त्रिशुली नदीमा खस्दा तीन जना वेपत्ता भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित नाग्दी खोलाबाट त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ । ग.२ च ४९१८ नम्बरको कार गतराती साढे १२ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले कार र हराइरहेकाको खोजी जारी छ । बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका वडा नं। १७ का ५५ वर्षका प्रेम बहादुर भुजेल, सोही स्थानका ५५ वर्षका लेख बहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल छन् ।