काठमाडौंबाट ३ लाख नक्कली नोटसहित चार पक्राउ

काठमाडौं । काठमाडौंबाट ३ लाख रुपैयाँ नक्कली नेपाली नोटसहित चारजना पक्राउ परेको प्रहरीले जानकारी गराएको छ । पक्राउ पर्नेमा रौतहटका पृथ्वीप्रसाद शाह, मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम छन् । अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनीहरूलाई काठमाडौं–१६, नयाँ बजारको मेडिकल चोक क्षेत्रबाट पक्राउ गरेकोहो । उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका २ लाख ९४ हजार बराबरको नक्कली नेपाली नोट बरामद भएको छ । उनीहरुमाथि थप अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।