काठमाडौंमा आजबाट चल्दैछ ‘द्रुत बस’ सेवा

काठमाडौं । काठमाडौंमा आजबाट पहिलो पटक द्रुत बसे सेवा चल्दैछ । ४५ मिनेटमा सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्ने गरी यस्तो बस सेवाको उद्घाटन आज हुन लागेको हो । संविधान दिवसका अवसरमा सूर्यविनायक–रत्नपार्क सार्वजनिक बस सेवा सञ्चालनमा ल्याउन लागिएको हो। सुरूमा २५ वटा बसबाट सुरू गरिने यो सेवा छुट्टै लेन (रातो रङले छुट्टयाइएकों)मा सञ्चालन हुने छ। बुधबार उद्घाटन गरिने र बिहीबारबाट यात्रुहरूले उपयोग गर्न पाउने भएका छन् । यातायात व्यवस्था विभागका अनुसार बिहीबारबाट २५ वटा बसहरू द्रुत सेवाअन्तर्गत सूर्यविनायकदेखि रत्नपार्कसम्म नियमित सञ्चालनमा आउने छन्।

यी बस गुड्नका लागि अहिले सडकका दुबै भागमा छुट्टै लेन बनाइसकिएको छ। द्रुत सेवा अन्तर्गतका बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्ने छन्। त्यो समयमा यी बस गुड्ने डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन निषेध गरिएको छ। यद्यपि अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, कर्मचारी बोक्ने बसहरू भने उक्त लेनमा चलाउन पाइने छ। बुधबार भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, मन्त्रालय तथा विभागका अन्य अधिकारीहरू, स्थानीय सरकारका पदाधिकारीलगायत व्यक्तिहरू रत्नपार्कबाट सूर्यविनायकसम्म पुग्नेछन्।

ट्राफिकको रातो बत्तीमा पनि यस्ता बस रोकिँदैनन्। एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधन जसरी नै गुड्न पाउँछन्। कतै जाममा परिहालेको खण्डमा एम्बुलेन्स जसरी दायाँबायाँ मोडिएर गुड्न पाउँछन्। त्यसो हुँदा द्रुत बस सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा पुगिने उल्लेख गरिएको छ। मास ट्रान्सपोर्टेसन अवधारणाले सार्वजनिक सवारी प्रयोगमा प्रोत्साहन हुने र निजी सवारी प्रयोग गर्नेको संख्या घटाउन यस्तो बस उपयोगी हुने गर्छ ।

यसो हुँदा सडकमा जाम कम हुन्छ र व्यवस्थित हुन्छ भन्ने विश्वास लिइएको छ । सूर्यविनायकबाट रत्नपार्कसम्म विभिन्न १९ स्थानमा बस स्टप रहन्छन्। रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडिबुटी, कौशलटार, गठ्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत धेरै मानिसहरूको चाप हुने १९ स्थानमा स्टप राखिएको छ ।