काठमाडौं । काठमाडौंमा कल सेन्टरको आवरणमा संगठितरुपमा अन्तरदेशीय ठगी धन्दा चलाउने गिरोह पक्राउ परेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कल सेन्टरको आवरणमा ठगी गर्ने गिरोहका १३ जना पक्राउ परेका हुन् । हालसम्म उनीहरुको निशानामा अमेरिकी र क्यानेडियन नागरिक थिए । ब्यूरोले आइतबार पत्रकार सम्मेलन गरेर गिरोहका नेपाली नाइके बुढानिलकण्ठ नगरपालिका–१२, कपनका विजय श्रेष्ठ, भारतीय नागरिक ३२ वर्षीय निसान खैरे र २४ वर्षीय मनीष तिवारीसहित १३ जनालाई पक्राउ गरिएको जानकारी गराएको छ । पक्राउ परेकामध्ये यी तीन जनाबाहेक अन्य सबै कल सेन्टरमा काम गर्न राखिएका कर्मचारी हुन् ।
अर्बिट नेक्सस नामक कम्पनीको कल सेन्टरमा जागिर खुलेको थाहा पाएपछि दर्खास्त दिएर ती कर्मचारीले काम गरिरहेका थिए । ्गिरोहले अमेरिकालाई टार्गेट बनाएकाले दर्खास्त माग्दै राम्रोसँग अंग्रेजी भाषामा बोल्न सक्ने हुनुपर्ने मापदण्ड राखिएको थियो । त्यही प्रक्रियाबाट छानिएका युवायुवतीहरूले गलत काम गरिरहेको थाहा पाएपनि प्रहरीलाई सूचित नगरेकाले पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ परेका सबै जनामाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसार सात दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
विजय श्रेष्ठको नाममा काठमाडौंमा अर्बिट नेक्सस नामक कम्पनी दर्ता छ । त्यही कम्पनीको नाममा दुई महिनादेखि धम्बाराहीमा कल सेन्टर सञ्चालनमा आएको हो । अमेरिकाका विभिन्न राज्यका वृद्धवृद्धाहरुलाई कम्युटर उत्पादक कम्पनीको नाममा अपरिचत व्यक्तिबाट फोन आउने गरेको छ । त्यसक्रममा उनीहरुलाई एन्टी ह्याकिङ सुरक्षाका लागि कम्पनीले लिएको पैसा फिर्ता गर्ने भन्दै बैंकको विवरण माग्ने गरिएको छ । त्यसरी विवरण लिने क्रममा उनीहरुको कम्प्युटरसम्म एक्सेस लिएर रकम चोरी गर्ने गरेका छन् । अनुसन्धानका क्रममा यो कम्पनीको नाममा पनि उही शैलीमा ठगी भइरहेको खुलेको हो ।