काठमाडौंमा गुड्न थाले साझाका विद्युतीय बस, यस्तो छ रुट

काठमाडौं । साझा यातायातले पहिलो चरणमा ल्याएका ३ वटा बिजुली बस काठमाडौं उपत्यकाका सडकमा गुड्न थालेका छन् । साझाले आजदेखि ती विद्युतीय बस संचालनमा ल्याएको हो ।

वैशाख २३ गते काठमाडौंं ल्याइएका ती विद्युतीय बस आजदेखि औपचारिक रुपमा संचालनमा आएको हो । साझा यातायातका कार्याकारी निर्देशक भुषण तुलाधारले अहिले बसहरुमा चलिरहेकै भाडामा विद्युतीय बस सञ्चालन गर्ने बताए । उनले उक्त बस हाल २ वटा रुटमा गुड्ने बताए ।

ती बसमध्ये दुई माछापोखरी–बालाजु–सोह्रखुट्टे–जमल–पुरानो बसपार्क–माइतीघर–नयाँबानेश्वर–तीनकुने–सिनामङ्गल–एयरपोर्टको रुटमा र एक लगनखेल–जावलाखेल–कुपण्डोल–त्रिपुरेश्वर–नेपाल वायुसेवा निगम–लैनचौर–शिक्षण अस्पताल–नारायण गोपालचोक–बाँसबारी–बूढानीलकण्ठ रुटमा सञ्चालन हुने साझाले जनाएको छ ।

यी ३ वटा बस चीनमै ‘ग्रेडबिलिटी टेस्ट’ (उकालो तान्न सक्ने क्षमता) परीक्षण गरेपछि नेपालमा ल्याइएको थियो । साझाले ल्याउने भनेको ४० वटा विद्युतीय बस मध्ये हाल ३ वटा मात्र बस आएको हो ।

चिनियाँ कम्पनी सीएचटीसी (नान्जिङ) अटो कम्पनी लिमिटेडले साझा यातायातका लागि ४० वटा विद्युतीय बस निर्माण गर्ने ठेक्का लिएको हो ।

साढे ८ मिटरको २६ सिटे बस आयात गरिने भएको हो । साझा यातायातले भ्याट सहित ६१ करोड रुपैयाँ लगानीमा ४० वटा विद्युतीय बस ल्याउने भएको हो । बसका लागि आवश्यक चार्जर सोही कम्पनीले ल्याउने छ ।

एउटा गाडीको मूल्य भ्याट सहित डेढ करोड रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ । कम्पनीले २० वटा चार्जिङ स्टेसन बनाएर दिने छ । २६ सिट क्षमताका बस अपाङ्गतामैत्री रहने छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दाबढी यात्रु लिइ २०० किमी गुड्न सक्नेछन् ।

यी बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि हुनेछन् । क्रमैसँग आधुनिक सुविधासहितको विद्युतीय बसहरु थप्दै जाने साझाले जनाएको छ ।

४० वटा विद्युतीय बस ल्याएर सफलता पूर्वक सञ्चालनमा आएपछि साझाले १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरु पनि ल्याउने योजना बनाएको छ ।