काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंसहित आज सात वटा जिल्लामा वडा अधिवेशन सम्पन्न गर्दैछ । यो अधिवेशनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने कार्यक्रम छ । भदौ १८ मा देशभरका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भनिएको थियो । तर, विवादका कारण मात्र ५७ जिल्लामा मात्रै अधिवेशन भएको हो । बाँकी २० जिल्लामा अधिवेशन हुन सकेको छैन ।
क्रियाशील सदस्यताको सूची सार्वजनिक नभएपछि प्रदेश नम्बर २ का ८ सहित १३ जिल्लामा वडा अधिवेशन अझै अन्यौलमा छ । क्रियाशील सदस्यतासम्बन्धी विवाद पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले मिलाए पनि कार्यान्वयनमा नआएको हो ।
क्रियाशील सदस्यताको सूची पार्टी वेबसाइटमा नराख्दा प्रदेश २ का ८ जिल्ला, रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतमा वडा अधिवेशन अन्यौलमा परेको छ। आज भने काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा अधिवेशन हुने छ । कांग्रेसले केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने योजना यसअघि नै सार्वजनिक गरेको थियो ।