काठमाडौं । अब काठमाडौं उपत्यका भित्रका सम्पदालाई रातको समयमा समेत भ्रमण गर्न सकिने भएको छ ।
ति क्षेत्रमा लाइटिंगको काम भइरहेको र काम सकिनासाथ रात्रिकालिन अवलोकनका लागि समेत खुला हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकराी दिए ।
आइतबार पुरातत्व विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले अब काठमाडौंका सम्पदा रातमा समेत ढुक्कसँग अवलोकन गर्न सकिने गरी तयार भएको जानकारी दिए ।
भक्तपुरमा शुरुवात नै भएको र पाटन तथा बसन्तुपुरमा समेत त्यसको तयारी गरिएको उनको भनाई छ ।
यसबाहेक काठमाडौं उपत्यका भित्रका विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदालाई साइकल लेनमा जोड्ने तयारी समेत भइरहेको मन्त्री भट्टराईले जानकारी दिए ।
सरकारले सम्पदासम्म मात्र पुग्ने गरी डेडिकेटेड बसको व्ववस्था गरी भ्रमण प्याकेज बनाउन पर्यटन व्यवसायीसँग आह्वान समेत गरिरहेको उनको भनाई छ ।
उनले भूकम्पपछि भत्किएका सम्पदा पुनर्निर्माणको काम तिब्रताका साथ भइरहेको भन्दै आगामी दुई वर्ष भित्र पुनर्निर्माण सम्पन्न हुने बताए ।
विभागका अनुसार भूकम्पले ९ सय २० सम्पदामा क्षति गरेको थियो ।
त्यसमध्ये ४ सय वटा सम्पदाको पुनर्निर्माण सकिएको छ । चालु आवमा १ सय ५० वटा सम्पदा पुनर्निर्माणको काम जारी रहेको छ । यसमा धरहरा, नुवाकोट दरवार, रानीपोखरीलगायत सम्पदा रहेका छन् ।