काठमाडौं । काठमाडौं महानगरपालिका भित्र चल्ने सार्वजनिक सवारी साधन अब लामो समयसम्म एकै स्थानमा रोकेर राख्न नपाइने भएको छ । उपत्यकामा यसअघि खुल्लामञ्च भित्र बसपार्क बनाएर सवारी साधन रोक्ने गरिएको थियो । अब भने महानगरपालिका भित्र सबै सवारी साधन पिक एण्ड ड्रप प्रणालीमा चल्नुपर्ने छ । महानगरको यो निर्णयसँगै अब साना तथा ठूला सार्वजनिक सवारी साधनहरु शहरी क्षेत्रमा लामो समयसम्म एकै स्थानमा रोकिन पाउने छैनन् ।
सवारी साधनले यात्रुलाई राखेर गुडिहाल्नु पर्नेछ । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क हटाएर काठमाडौं टावर निर्माण गरिरहेको छ । त्यहाँबाट बसहरु खुलामञ्चमा पार्क गर्ने गरिएको थियो । महानगरपालिकाले खुलामञ्चबाट समेत बसपार्क हटाएको छ ।
महानगरपालिका र यातायात व्यवसायीका प्रतिनिधि तथा मजदुरका प्रतिनिधिहरुबीच मंगलबार भएको छलफलमा छलफलमा एनएसी आसपास, न्युरोड गेट अगाडि र वीर अस्पताल अगाडि सडकमा पिक एण्ड ड्रप प्रणालीमा सवारी साधन चल्ने निर्णय गरिएको हो । साविकमा काठमाडौं महानगरपालिकाकाले सञ्चालन गरेको पुरानो बसपार्क भएको स्थानमा बन्दै गरेको काठमाडौं टावरको काम सकिएपछि भने त्यहाँ बसपार्क समेत बन्ने छ ।