काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमाथिको जोर विजोर प्रणाली हट्यो

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमाथिको जोर विजोर प्रणाली हटेको छ । निजी सवारीमा भने कायम छ । बस, माइक्रोबस र टेम्पोहरुमा जोर बिजोर प्रणाली लागु हुने छैन । आम सर्वसाधारणलाई अन्य सबै गतिविधि कायम राखेर यातायातमा कडाई गरेको भन्दै सरकारको कडा आलोचना भएको थियो । यसले सार्वजनिक सवारी साधनमा अत्यधिक भिडभाड हुँदा कोभिडको अझै जोखिम बढेको भन्दै विरोध भएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेपछि प्रशासनले सो निर्णय गरेको हो ।