काठमाडौं उपत्यकामै बाढी र डुबान, नदी किनारका सयौं घर जोखिममा

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा डुबान भएको छ । रातीदेखि परेको वर्षाका कारण बागमती र धोबिखोलासहित उपत्यकाका सबै नदीमा जल प्रवाह बढेको छ । यसले कालिमाटी, टेकु, शंखमुल, बानेश्वरसहितका क्षेत्रको नदी किनारका बस्ती डुबानमा परेको हो । काठमाडौंमा सोहीकारण बिद्युत सेवासमेत अबरुद्ध भएको छ ।

काठमाडौं उपत्यकाको बागमती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो ६ घण्टादेखि वर्षा भइरहेको छ । थप वर्षा हुने सम्भावना रहेको बाढी पूर्वसूचना केन्द्रले उल्लेख गरेको छ । केन्द्रका अनुसार उपत्यका भई बहने साना नदीहरुमा जलसतह बढ्दो हुने, केही साना नदी–नालाको पानी सडक किनारसम्म आउन सक्छ, किनारको सडक भई यात्रा गर्दा सतर्कता अपनाउनु पर्नेछ ।