काठमाडौं-केरुङ रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली काठमाडौं आयो

File

काठमाडौं । काठमाडौं– केरुङ रेल मार्गको सम्भाव्यता अध्ययन गर्न चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आएको छ । यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको रेल मार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली काठमाडौं आएको रेल विभागले जनाएको छ । चिनियाँ विज्ञ र विभागको सहकार्यमा सम्भाव्यता अध्यनयको प्रक्रिया अगाडि बढ्नेछ । यसअघि पनि चिनियाँ सहयोगमा नै यो परियोजनाको पूर्वसम्भाव्यता अध्ययन भएको थियो ।

चिनियाँले सम्भाव्यता अध्ययनलाई नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मान्दछन् । सरकारले सम्भाव्यता अध्ययनका लागि यसअघि नै चीनलाई आग्रह गरेको थियो । कोरोना कहरलगायतका कारणले चिनियाँ प्राविधिक टोली नेपाल आउन सकेको थिएन । सरकारको पटक–पटकको आग्रहपछि चिनियाँ प्राविधिक टोली नेपाल आएको हो । टोलीले नै समग्र आयोजनाको अध्ययन गर्नेछ । विभागले त्यसका लागि समन्वय गर्नेछ ।

बेल्ट एन्ड रोड अवधारणामा निर्माण गर्ने गरी नेपालले चीनसँग प्रस्ताव गरेको विभिन्न नौ परियोजनामध्येको एक हो रेल मार्ग । गएको चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण र तत्कालीन परराष्ट्रमन्त्री डा। नारायण खड्काको चीन भ्रमणमा समेत यो परियोजनाको बारेमा छलफल भएको थियो । आयोजनाको सम्भाव्यता अध्ययनसमेत चिनियाँ सहयोगमा नै सम्पन्न हुनेछ ।