काठमाडौं छिराउने क्रममा ठूलो मात्रामा पटाका बरामद

काठमाडौं । नजिकिएको तिहारलाई लक्षित गरी नेपालमा प्रतिवन्धित पटाका काठमाडौं भित्रने गरेको रहस्य खुलेको छ । सोही क्रममा प्रहरीले नागढुंगा चेकपोइन्टबाट बुधबार ठूलो मात्र विष्फोटक पदार्थ पटाका बरामद गरेको छ ।

प्रहरीले चेकजाँच गर्दा अवैध रुपमा काठमाडौं ल्याउँदै गरेको २ लाख ६६ हजार पटाका बरामद भएको हो । पटाका महेन्द्रनगरबाट काठमाडौं भित्रिएको पाइएको छ । पूर्व र मध्य नेपालका नाकामा अत्यधिक कडाई भएका कारण अहिले तस्करीका लागि सुदुरपश्चिमका नाका प्रयोगमा आइरहेका छन् ।

यसअघि कंचनपुरमा तस्करले दुई प्रहरीको हत्या गरिसकेका छन् । महानगरीय प्रहरी प्रभाग, नागढुंगाका अनुसार महेन्द्रनगरबाट काठमाडौँ आइरहेको ना ७ ख ४५५ नम्बरको बस चेकजाँच गर्दा सिटमुनि लुकाएर ल्याएको १० बोरा पटाका बरामद भएको हो ।

प्रहरीले बस चालक कञ्चनपुरका ३० वर्षिय नविन जोशीलाई नियन्त्रणमा लिएको छ । नागढुंगाबाटै रौतहटको गौरबाट ल्याइएको ८ हजार ४ सय थान खुर्सानी पटकाका, १२ वटा रकेट पटाका, ८० वटा गमला पटाका, एक सय वटा बुलेट पटका, लामो रकेट पटाका १९० वटा लगायत पनि बरामद भएको प्रहरीले जनाएको छ ।

ना ६ ख ७११४ नम्बरको बसमा चेकजाँच गर्दा रौतहटको पिन्टु जैसवालले पटाका ल्याएर आएको खुलेको छ ।