काठमाडौं । आज काठमाडौंको ट्राफिक दिनभरजसो अस्तव्यस्त रह्यो । मानिसहरुले सास्ती भोगे । तर, सरकारको असंवैधानिक कदमका विरुद्धमा देखिएको जनलहरले भने प्रचण्ड नेपाल समुहको नेकपाका नेताहरु भने उत्साहित थिए ।
किनकी प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड माधव समूहले काठमाडौंमा आह्वान गरेको शक्ति प्रदर्शनमा सम्भवतः जनआन्दोलनको सफलताताकाकै झल्को दिने गरी मानिस उपस्थित भए । त्यसो त नेकपाले काठमाडौं आसपासका जिल्लाबाट मानिसहरुलाई गाडीमा राखेर समेत ल्याएको थियो ।

तर, काठमाडौंमा अपेक्षित मानिस उतार्दै नेकपाले प्रधानमन्त्रीको ढोकामा भने ढकढकाउने काम गरेको छ । सभालाई सम्बोधन गर्दै प्रचण्ड र माधव कुमार नेपाल दुबैले आजको उपस्थिति जनताको तागत भएको उल्लेख गरे । अध्यक्ष माधवकुमार नेपालले यस उपस्थितिलाई जनआन्दोलनको संज्ञा दिन भ्याए ।
उनले यसलाई कास्टिङ मात्र भएको समेत उल्लेख गरे । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले दोस्रो जनआन्दोलनपछि यताकै विशाल प्रदर्शन देखेको उल्लेख गरे । यस्तो आन्दोलन पछिल्लो १२, १४ वर्षयताकै ठूलो भएको उनको भनाई छ ।
आजको सभाका लागि काठमाडौंमा विभिन्न स्थानबाट जुलुस निकालिएको थियो । जुलुसलाई शीर्ष नेताले नेतृत्व गरेका थिए । धेरै मानिस भएका कारण जुलुस कै जाम भएको थियो ।

पुतलीसडक, भद्रकाली, सहिदगेट, सुन्धारा हुँदै भृकुटीमण्डपमा पुग्ने तय भएको जुलुस अन्ततः जामका कारण मानिस जहाँ थिए, त्यही बस्नु पर्ने अवस्था आएको थियो । त्यसपछि भृकुटीमण्डप अगाडी टुडीखेलको पर्खालसँगै विशाल मञ्च बनाएर सभा सम्पन्न भएको छ ।