काठमाडौं बौद्धको एक रेष्टुरेन्टमा अनलाइन जुवा खेलिरहेका ७४ जना एकै पटक पक्राउ

काठमाडौं । काठमाडौंको बौद्धस्थित प्लटिङ नजिक एक रेष्टुरेन्टमा अनलाइन जुवा (बिङ्गो) खेलिरहेका ७४ जना एकै पटक पक्राउ परेका छन् । दोलखा घर भई बानेश्वर बस्ने ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टमा आइतबार साँझ महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीबाट उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले सोमबार एक सूचना जारी गरी यस्तो जानकारी गराएको हो ।

कोभिड १९ को महामारीको समयमा ठूलो सङ्ख्यामा मानिस भेला भई अनलाइन बिङ्गो खेलमा संलग्न रहेका भनी विशेष सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको बताइएको छ । उक्त खेलमा प्रयोग गरिने सामग्री मोबाइल, बिङ्गो खेल्न प्रयोग गरिने कुपन र नगदसमेत नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरूको साथबाट ६ लाखभन्दा बढी रकमसमेत बरामद भएको छ ।