काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

Photo : Gorakhapatra

काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ। आइतबार महानगरपालिकाले राष्ट्रिय सभा गृहमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७९\८० को नीति तथा कार्यक्रम बुधबार सर्वसम्मतले पारित भएको हो । काठमाडौं महानगरका मेयर बालेन शाहले काठमाडौंको स‌स्कृति र सम्पदा संरक्षणलाई विशेष प्राथमिकता दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। ‘सांस्कृतिक सहर समृद्ध नगर’ को मूल नारा बोकी महानगरको आर्थिक, सामाजिक, सांस्कृतिक सुधार एवं विकाससँगै पर्यावरणीय सन्तुलन कायम राख्दै महानगरलाई हराभरा बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ।

मेयर शाहले भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धनसँगै भौतिक पूर्वाधार विकास, विद्युतीय शासनमार्फत् सुशासन प्रवर्द्धन, उद्यमशीलता, कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचार, फोहोरमैला व्यवस्थापनलगायत लैंगिक समानता र सामाजिक समावेशीकरणलाई नीति तथा कार्यक्रममा जोड दिएका छन्। महानगरभित्र सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूको विश्रामका लागि बस स्टपमा फल्चा निर्माण गर्ने कार्यक्रममा छ। उनले डबलीहरू पनि पुनर्स्थापना गर्ने कार्यक्रम समेत समेटेका छन् ।