काठमाडौं महानगरभित्र ६३ प्रतिशतले लगाए पूर्ण खोप

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र ६३ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । राससका अनुसार महानगरपालिकामा खोप लगाउन लक्षित उमेर समूहमध्ये ६३ प्रतिशतले पूर्ण मात्रा र ७५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको कामपा जनस्वास्थ्य विभागले जनाएको छ ।

पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण बढिरहेकाले पनि कामपाले खोप कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाएको जनाएको छ । कामपा जनस्वास्थ्य विभागका प्रमुख हरि कुँवरका अनुसार अब दोस्रो मात्रा खोप लगाउन बाँकी रहेका र दुवै मात्रा लगाउनु पर्ने लक्षित समूहका लागि पनि खोप कार्यक्रम तीव्र रुपमा अघि बढाइएको छ । काठमाडौंमा खोप लगाउने १५ लाख ६३ जना लक्षित समूहका छन् ।

अहिले कामपाको ३२ मध्ये ११ स्थानबाट खोप कार्यक्रम दैनिक रुपमा नै सञ्चालन भइरहेको छ भने काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य चार नाकामा पनि स्वास्थ्य टोली खटाएर खोप कार्यक्रम सञ्चालन भइरहेको कामपाले जनाएको छ । पछिल्लो समय हरेक दिन कोरोना भाइरस सङ्क्रमण बढिरहेको छ, विश्वका अन्य मुलुक र छिमेकी देश भारतमा पनि प्रतिदिन कारोना सङ्क्रमित र मृतकको सङ्ख्या बढिरहेकाले यसबाट हुने मानवीय क्षति कम गर्नका लागि पनि खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने कुँवरको भनाइ छ ।