काठमाडौं महानगरले ल्यायो नीति तथा कार्यक्रम, के-के परे प्राथमिकतामा ?

Photo : Gorakhapatra

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९\८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मेयर बालेन्द्र साहले आइतबार आयोजित ११ औं नगरसभामा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । उनले आकासे पानीको उपयोग देखि फोहोर मैला व्यवस्थापन सम्मका योजनालाई नीति तथा कार्यक्रममा समेटेका छन् । उनले महानगरभित्र होमस्टे सञ्चालनको घोषणा पनि गरेका छन् ।

उनका अनुसार प्राचीन सभ्यताको धरोहरको रुपमा रहेको हाँडीगाउँ क्षेत्रमा आगामी आर्थिक वर्षमा सम्पदा पुनर्उद्धार गर्दै होमस्टे सञ्चालनको व्यवस्था मिलाइने भएको छ । काठमाडौंमा ‘एमफी थिएटर’ निर्माणको घोषणा समेत उनले गरे । उनका अनुसार कला क्षेत्रलाई प्रबर्द्धन गर्न काठमाडौं महानगर क्षेत्र भित्रका डबलीहरुको पुनर्स्थापना र एम्फी थियटर निर्माण गरिने भएको हो ।

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति, बौद्ध, स्वयम्भु र बसन्तपुर क्षेत्रको संरक्षण गरिने, स्वयम्भु र बौद्धको व्यवस्थापन काठमाडौं महानगरपालिका अन्तर्गत ल्याउन पहल गरिने भएको छ । महानगर क्षेत्र भित्र मनाइने जात्रा, पर्व, मेला, पूजा, परम्परागत जीवन शैली एवं अन्य सांस्कृतिक सम्पदाहरुको मुख्य परिचयात्मक विवरण समेटी काठमाडौं महानगरको सांस्कृतिक प्रोफाइल तयार गरी प्रकाशित गर्ने नीति तथा कार्यक्रममा भनिएको छ । काठमाडौं महानगरपालिकाकाले तीनकुनेको विवाद समाधान गरेर पूर्वाधार बनाउने योजना ल्याएको छ ।

वडा नम्बर ३२ स्थित तीनकुनेको जग्गा विवाद सामधान गरी आवश्यक पूर्वाधार निर्माणका लागि संघीय सरकारसँग समन्वय गरी कार्य गर्ने घोषणा मेयर साहको छ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका रहेका सरकारी, सार्वजनिक, निजी संस्थाहरुको परिसरमा रहेको खाली जग्गामा पानी पुनर्भरणका लागि पोखरीको निर्माण गर्ने समेत योजना बनाएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले आर्थिक वर्ष २०७९\०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोरिङ गरिँदै आएका स्थानमा रिभर्स बोरिङ गर्ने व्यवस्था मिलाउने बताएका छन् । उनले सार्वजनिक निजी साझेदारीमा सार्वजनिक शौचालयहरु सञ्चालन गर्ने नीति सेमत लिएको बताए । पुराना हिटी र पोखरीहरुको पुननिर्माण गर्ने योजना पनि महानगरले ल्याएको छ ।

काठमाडौं महानगरपालिकाले प्रत्येक हप्ताको आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ । बालेनले नीति तथा कार्यक्रममा महानगरपालिकालाई पारदर्शी र सुशासनको लागि मातहतका सबै कार्यालयमा सीसी क्यामेरा जडान गरिने बताए । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले नेवाः समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने घोषणा गरेको छ । नेवार समुदायले उत्पादन गर्ने घरेलु ‘ऐला’ लाई संकेत गर्दै महानगरले यस्तो घोषणा गरेको हो । काठमाडौंमा सञ्चालन हुने विभिन्न जात्रा, पर्वहरुलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराई पर्यटन प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।