काठमाडौं । आजबाट काठमाडौँ उपत्काका घरमा मेलम्चीको पानी वितरण शुरु भएको छ । पहिलो चरणमा उपत्यकाका सीमित ठाउँमा भएपनि परीक्षणका रुपमा पानी पठाउन लागिएको हो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका अनुसार पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने भएको छ । यसअघि रहेका पोखरीमा पानी भरेर सोही पोखरीमार्फत पानी वितरण गर्न लागिएको हो ।
यससँगै मेलम्चीको पानी पिउने राजधानीबासीको ३ दशक लामो प्रतिक्षा समेत पुरा भएको छ । पहिलो चरणमा चार ठाउँमा गएपछि सुन्दरीजलबाट पानी दोस्रो चरणमा बालाजु पोखरीमा पठाइने भएको छ । पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण गर्ने तयारी छ ।
उपत्यकामा पाइपको अवस्था हेरेर दैनिक साढे आठ करोड लिटर पानी आउनेछ । अहिले एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोडसम्म पानी आउने बताइएको छ । अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने छ ।
दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिने बताइएको छ । विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता गरेको थियो ।
यस्तो छ पानी आउने तालिका
खानेपानी लिमिटेडले जारी गरेको तालिकाअनुसार राति १२ बजेदेखि २ बजेसम्म महांकालचौरमा रहेको ट्यांकी भरिने छ भने सो पानी राति २ बजेदेखि ९ बजेसम्म न्युरोड र क्षेत्रपाटी क्षेत्रमा वितरण गरिनेछ ।
यस्तै बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म कुटुबहाल, सिफल, कालोपुल, मालीगाउँ र विशाल नगर क्षेत्रमा वितरण हुनेछ । मध्यान्ह १२ बजेदेखि साँझ ७ बजेसम्म भने देवकोटा सडक, बत्तीस पुतली, जय बागेश्वरी, चाबहिल क्षेत्रमा मेलम्चीको पानी आउनेछ ।
यस्तै साँझ ७ बजेदेखि ८ बजेसम्म पुनः महांकालचौरीको ट्यांकी भरिनेछ भने त्यसपछि राति ८ बजेदेखि १२ बजेसम्म मैतीदेवी, घट्टेकुलो र डिल्लीबजार क्षेत्रमा पानी आउनेछ ।
यस्तै दोस्रो दिन राति १२ बजेदेखि २ बजेसम्म महांकालचौरमा रहेको ट्यांकी भरेर २ देखि बिहान ८ बजेसम्म इनबहाल, ज्याठा, भोटाहिटी, कमलाक्षी र नक्साल क्षेत्रमा मेलम्चीको पानी आउनेछ ।
त्यसपछि फेरि ८ बजेदेखि १० बजेसम्म ट्यांकी भरेर १० देखि ४ बजेसम्म बानेश्वर, सिनामंगल, मिलनचोक र संगम चोक क्षेत्रमा पानी आउनेछ । यस्तै बिहान १० बजेदेखि ४ बजेसम्म नै जय बागेश्वरी, मित्र पार्क, चावहिल, रातोपुल, कालीमाटी डोलमा पानी आउनेछ ।
यस्तै अपरान्ह ४ बजेदेखि ५ बजेसम्म ट्यांकीमा पानी भरेर फेरि साँझ ५ देखि मध्यराति १२ बजेसम्म चारखाल, डिल्लीबजार, कमलादी, बागबजार, त्रिपुरेश्वर क्षेत्रमा पानी आउनेछ ।
पानी आउने दिनको पहिलो दिनमा आइतबार र दोस्रो दिनमा सोमबार मान्दा त्यसको एक दिन बिराएर धारमा पानी आउनेगरी तालिका बनाइएको छ ।