काठमाडौं । बुढानिलकण्ठ नगरपालिकास्थित जगडोल हाईटमा रावणले यज्ञ गर्दै गरेको ४० फिट अग्लो विशाल मुर्ती सहित सुविधा सम्पन्न पार्क निर्माण शुरु भएको छ । नगरपालिकाको ११ नम्बर वडामा स्थानिय यज्ञडोल जगडोल युवा क्लबको संयोजनमा निर्माण हुन लागेको पार्कको मंगलबार नगर प्रमुख उद्धब खरेलले एक कार्यक्रमबीच निर्माण सुभारम्भ गरे ।
परापुर्ब कालमा रावणले यज्ञ गरेर थुप्रिएको चरुबाट निर्माण भएको मान्यता रहदै आएको यज्ञडोल पछी अप्रभम्स भई जनजिब्रोमा जगडोलको नामले प्रचलित भएको जन विश्वास छ ।जगडोल हाईटको दारेगौडामा निर्माण हुन लागेको पार्कको निर्माण सिलान्यास कार्यक्रम नगर प्रमुख खरेलको प्रमुख आतिथ्यमा मंगलबार सम्पन्न भएको हो ।

दिन प्रतिदिन सार्वजनिक जग्गा माथि अतिक्रमण हुँदै गएको पारिपेक्षमा सर्वजनिक जमिन संरक्षण गर्ने तथा आफ्नो गाऊको धार्मिक तथा साँस्कृतिक ईतिहास जोगाउने उदेश्यका साथ रावणले यज्ञ गर्दै गरेको मुर्ति सहितको यज्ञपार्क निर्माण गर्न लागेको यज्ञडोल जगडोल युवा क्लबका अध्यक्ष संन्जय पौडेलले बताए।

अध्यक्ष पौडेलका अनुसार अहिले गाऊमा सार्वजनिक काम गर्न आवस्यक पर्ने सामान्य खर्चका लागि समेत स्थानिय वडा र नगर पालिकासँग पटक पटक गुहार मागिरहनु पर्ने बाध्यता छ । अब भने आर्थिक आय-आर्जनको लागि र सुन्दर जगडोलमा व्यापारिक प्रयोजनको लागि जथाभाबी निर्माण गरी संचालन गर्दै आएका छाप्रो क्रमैसँग व्यवस्थित गरिने भएको छ । ति छाप्रोलाई सटरमा स्थानान्तरण गरि पार्क व्यवस्थित गरिने छ ।

निर्माण सुभारम्भ कार्यक्रममा यज्ञ पार्क निर्माणको आर्थिक पाटो तर्फ बताउदै आर्थिक वर्ष २०७७\७८ अन्तर्गत स्वीकृत नगर स्तरीय योजना मार्फत बुढानिलकण्ठ नगरपालिको वडा ११ जगडोलस्थित जगडोल झण्डा पार्क , यज्ञपार्क सटर तथा गेट निर्माण,सटर कोठा बनाउने,गेट बनाउने,कम्पाउण्ड बनाउने कुल अनुमानित लागत ५०लाख १सय ६रुपैया ७४ पैसा मध्ये नगरपालिका बाट यज्ञ पार्क निर्माणको लागि प्रारम्भमा ४८ लाख ७५ हजार छुट्याएको छ भने र जन श्रमदान बाट बेहोर्ने गरी १लाख २५हजार १ सय ६रुपैया ७४पैसा रहेको जानकारी गराइएको थियो ।

यज्ञ पार्क निर्माण योजना यज्ञडोल जगडोल उपभोक्ता समिति मार्फत हुन लागेको र सो कामको मिति २०७७ साल माघ २२गते योजना सम्झौता भए अनुसार सूचना टास गरि मिति २०७७ साल चैत्र २५ गते भित्र सकिने पनि जानकारी गराइएको थियो । देशकै एउटा गौरबको पार्कको रुपमा निर्माण हुन लागेको यज्ञ पार्क निर्माणको लागि छिमेकी नगर पालिका गोकर्णेश्वोरले समेत बलियो सहयोग गर्ने प्रतिबद्धता नगर प्रमुख सन्तोष चालिसेले पटक पटक गरेको हुँदा पार्क निर्माण कार्यका लागि आर्थिक अभाब नहुने स्थानिय युवाहरुले विश्वास लिएका छन् ।

पर्यटकीय दृष्टिकोणले रमणीय ठाउँ जगडोलको आफ्नो पहिचान जोगाउन जगडोलमा रहेका सम्पुर्ण संघ(संस्थाहरुलाई समेटि पार्क निर्माण आयोजना कार्यान्वयन कार्यदल समिती समेत गठन गरि सुरु गरिएको योजनाको पारदर्शी ढंगबाट कार्य गर्न वडा अध्यक्ष राजु अधिकारीले कार्यक्रममा सुझाव दिएका छन्।यज्ञ पार्क कुल ६ रोपनी सार्वजनिक जग्गामा निर्माण गरिने क्लबका सचिब कपिल पौडेलले बताए ।

स्थानिय युवाहरूको भावना र पहलमा सुरु गरिएको योजना सामाजिक क्रियाकलाप र परिवर्तनको लागि हामी जुट्नु पर्छ भन्ने प्रमुख उद्देश्यका साथ जगडोलको पहिचान र बिकासमा यज्ञ पार्क निर्माण सम्पन्न हुँदा थप टेवा पुग्ने आयोजकले बिश्वास लिएका छन् ।




